काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्ने भएको छ । बिहीबार कार्यालयका प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले प्रेस विज्ञप्ति जारी गर्दै तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको तस्विरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
गोपनीयता कायम गर्नुपर्ने तस्बिर प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । यता, रवि हिरासतमा सुतिरहेको फोटो डा.निकोलसको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् ।
बिहीबार एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएलगत्तै भाइरल भएको थियो ।







