काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।
मूल्य वृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोलको भाउ लिटरको १ सय ६० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको भाउ भने बढाइएको छैन ।
निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको हो । निगमले डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर डिजेलमा १८ पैसाले घटेर आएको छ । पेट्रोलमा प्रतिलिटर ५८ पैसा, मट्टितेलमा १ रुपैयाँ ७४ पैसा, हवाई इन्धनमा १ रुपैयाँ ३५ पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आएको छ । आम उपभोक्ताको हितलाई मध्यनजर गरी एलपी ग्यासको मूल्य बढेर आएतापनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवासी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ।
Artha Sanjal






