नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.९८ अंकले घटेर दुई हजार ५ सय ४२.२८ विन्दुमा रोकिएको हो । आइतबार नेप्से ४१.४३ अंकले घटेर दुई हजार ५ सय ७२.२३ विन्दुमा रोकिएको थियो ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ कम्पनीको शेयरमूल्य घटेको छ । आज राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९९१.५० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९२०.३० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य आज करिब ५ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवत्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज २२ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।