काठमाडाैं । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २५ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ ।
भदौ २४ गते अर्थात् सोमबार भने बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ७९ अर्ब बराबरको निक्षेप संकलन भएको थियो ।
यस्तै, वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि १८ अर्बले बढेको छ । गत भदौ २४ गते ५७ खर्ब ५१ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २५ गते ५७ खर्ब ६९ अर्ब निक्षेप संकलन गरेका हुन् ।
भदौ २५ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप भने १ अर्बले घटेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलन बढेता पनि कर्जा प्रवाह भने घटेको छ । भदौ २५ गतेसम्म बैंकिङ प्रणालीबाट ५२ खर्ब ९ अर्बबराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । भदौ २४ गतेसम्म भने ५२ खर्ब १३ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।
यसैगरी, त्यसअवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा पनि ३ अर्बले घटेको छ । २४ गते ४६ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २५ गते ४६ खर्ब १० अर्ब कर्जा प्रवाह गरेका छन् ।
सीडी रेसियो ७९.०२ प्रतिशतबाट घटेर ७८.८० प्रतिशत कायम भएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ।






