नुवाकोट । भड्किलो गीत संगीत र पहिरनले तीजको सांस्कृतिक मान्यतालाई नै खल्बल्याइरहेको बेला नुवाकोटमा भने फरक शैलीको तीज लक्षित कार्यक्रम आयोजना भएको छ । ठूला ठूला साउण्डसिस्टममार्फत बजेका ‘भड्किला’ गीतले तीजको महत्व खस्काएको बताउने कतिपयलाई नुवाकोटको बिदुरमा आयोजना भएको तीज विशेष कार्यक्रमले भने लोभ्याउने देखिन्छ । तीज वर्षभरमा महिलाहरुले खुलेर मनाउने एक चाड मानिन्छ । तर पछिल्ला दिनमा भड्किलो मनाउने शैलीले तीज पर्वप्रति नै वितिष्णा पनि बढाएको छ ।
नुवाकोटमा भने तीज पर्वलाई महिलाको उद्यमशीलतासँग जोडेर फरक शैलीले मनाइएको छ । तीजको अवसरमा उद्यमी महिलाहरुले गरेका कामको प्रदर्शन गरेर मनाइएको छ ।
महिलाहरुले नै पञ्जेबाजा बजाएर नाचगान गर्दै उनीहरुले उत्पादन गरेका सामाग्रीहरु देखाएर नुवाकोटको बिदुरमा तीजलक्षित कार्यक्रम मनाइएको हो । कार्यक्रममा घरेलु उत्पादनको प्रदर्शननीसँगै महिलाहरुको स्वास्थ्य जाँचसमेत गरिएको थियो । बिदुर नगरपालिकाको बट्टारमा रहेको बाजेको सेकुवामा आज आयोजना गरिएको कार्यक्रममा महिलाहरुले उत्पादन गरेका तेल, अचार, तरकारीका आइटम, ब्लक, हातले बुनेका सामाग्री, गुडियाहरुलगायतको प्रदर्शनी गरिएको थियो ।
साथमा महिलाको स्वास्थ्य जाँच पनि गरिएको थियो भने महिलाहरुलाई स्वास्थ्य सचेतनासमेत दिइएको थियो । नुवाकोटको सदरमुकाम बिदुरमा संघले आयोजना गरेको कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नुवाकोटका स्थानीय तहका जनप्रतिनिधिलगायतले अवलोकन समेत गरेका थिए ।
स्वास्थ्य जाँच तथा सचेतनाका लागि भने लायन्स क्लबले आयोजकलाई सहयोग गरेको थियो । संघले आयोजना गरेको महिला उद्यमीले उत्पादन गरेका सामाग्री प्रदर्शनी कार्यक्रममा उद्यमी बन्न प्रेरित गर्न सहयोग गर्ने बाचा मुख्यमन्त्रीदेखि स्थानीय तहको प्रमुख–उप–प्रमुखहरुले दिएका थिए ।
तीजलाई फरक शैलीमा आयोजना गर्ने व्यक्ति भने महिला उद्यमी संघ नेपाल, नुवाकोटकी अध्यक्ष गीत अमात्यको टिम थियो । उद्यमी महिलाको उत्पादनको अवलोकनसमेत गरेका बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालगायतले संघले आयोजना गरेको कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए । मुख्यमन्त्रीले त महिलाको उद्यमशीलाको विकासमा लागि आफूले पनि ठूलै सहयोग गर्ने आश्वासन समेत दिए ।
स्थानीय तहका जनप्रतिनिधिहरुले पनि महिलाहरुको उद्यमशीलतालाई सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले समेत कार्यक्रमको प्रशंसा गरिन् ।
खकेन्द्र बहादुर बुढा