बीमा समितिले निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सीमा तोकेकोप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
महासंघले आज विज्ञप्ति प्रकाशित गरी खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि सोही दरलाई नै न्युनतम सीमा तोकिदा एकाएक आयोजनाको लागत बढ्न जाने हुँदा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको– ‘स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ–संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि विमितले विमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरू राखिएका छन् । यस बिषयमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि महासंघ माग गर्दछ ।’
यसैगरी बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघ आग्रह गरेको छ । खुला बजार अर्थ व्यवस्थामा प्रतिष्पर्धाद्वारा मुल्य निर्धारण हुने हुँदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।
साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।