काठमाडौं । अपर तामाकोशी जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी २ अर्ब ६८ करोड ६८ लाख १९ हजार रुपैयाँ नोक्सानमा हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ४ अर्ब ९ करोड ८२ लाख १४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब ७५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । बिजुली बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ७.९ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षमा वित्तीय लागत ७ अर्ब २७ करोड रहेकोमा गत आर्थिक वर्षमा यो ६ अर्ब ६९ करोड छ ।
कम्पनीको दीर्घकालीन ऋण नै ७१ अर्ब १३ करोडभन्दा बढी छ । आयोजना निर्माणमा भएको अत्याधिक ढिलाइका कारण कम्पनीको दीर्घकालीन ऋण उच्च हुन गएको हो ।
हाल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट कम्पनीले विद्युत् उत्पादन गरी बिक्री गरिरहेको छ ।
नोक्सानीसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा ५६ रुपैयाँ ८८ पैसा छ । २१ अर्ब १८ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ पनि ९ अर्ब १३ करोड ऋणात्मक छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २५४ रुपैयाँ ९० पैसा छ ।







