काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले १५० प्रतिशत अर्थात् हालको १०० बराबर थप १५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन २७ देखि आवेदन खुलाउने भएकाे छ ।
बिक्री प्रवन्धक नविल इन्भेस्टमेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत हकप्रद निष्कासनबारे जानकारी गराएको हो । आवेदन भदौ १६ गतेसम्म खुल्ने छ ।
हाल चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासनबाट १ अर्ब २० करोड थप गर्न लागेको हो । साउन १ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले यो हकप्रद सेयर भर्न पाउँछन् ।
कम्पनीले हाल ८.४ मेगावाटको आँखुखोला १ आयोजना संचालन गरिरहेको छ । हकप्रद निष्कासनबाट प्राप्त रकमबाट ४० करोड रुपैयाँ बैंकको दीर्घकालीन ऋण तिर्ने कम्पनीले जनाएको छ ।







