नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने पुनर्कर्जाको ब्याजदर २ प्रतिशत विन्दुले वृद्धि गरी ७ प्रतिशत पु¥याएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा भएको व्यवस्था कार्यान्वय गर्न राष्ट्र बैंकले “नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७” को चौथो संशोधन गरेको हो ।
संशोधन कार्यविधिमा यसअघि कायम पुनर्कर्जाको ब्याजदरमा २ प्रतिशत विन्दुले बढाएर ७ प्रतिशत पु¥याइएको हो । बैक तथा वित्तीय संस्थाले पहिले लिँदै आएको लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनर्कर्जामा २ प्रतिशत विन्दुका दरले ब्याजदर बढेको छ । यसअघि ५ प्रतिशत लिँदै आएको पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुगेको हो ।
कोभिडले धरासायी बनेका व्यवसायहरू लयमा फर्कन खोजिरहेको अवस्थामा यसरी ब्याजदर बढ्दा साना व्यवसायहरूमा प्रत्यक्ष प्रभाव पर्ने व्यवसायी बताउँछन् । राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर बढाएपछि उत्पादन लागत बढ्ने र अरूसँग प्रतिसपर्धा गर्न नसक्ने नेपाल ऊनी फेल्ड उत्पादक तथा निर्यात संघका अध्यक्ष अमृत खड्काले बताए ।
बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जामा लिँदै आएको ब्याजदर बढ्दा हस्तकला व्यवसायमा प्रत्येक्ष प्रभाव पर्ने नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्डमान शाक्यले बताए । भरखरै व्यवसाय सूचारूले निरन्तरता पाएको भन्दै उनले राष्ट्र बैंकको यो निर्णयले निर्यात व्यवसायीलाई पत्येक्ष प्रभाव पार्ने बताए ।
कर्जाका लागि घरेलुु तथा साना उद्योग महासंघले पहल गरेपनि यसको लाभ बैंकका विचौलियाले लिएको भन्दै असली व्यवसायीलाई कुनै असर नपर्ने प्रतिक्रिया घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले दिए ।
घरेलु तथा साना उद्योग महासंघमा ४५ हजार सदस्य रहेको अध्यक्ष उमेश प्रसाद सिंहले जनाए । महासंघमा आवद्ध भएका व्यवसायी पुनर्कर्जा लिनबाट बञ्चित भएको उहाको गुनासो छ ।
राष्ट्र बैंकले बैंकहरूले ऋणीसँग लिने विशेष पुनर्कर्जाका लागि ३ प्रतिशत ब्याजदर तोकेको थियो भने लघु, घरेलु तथा साना उद्यम र साधारण पुनरकर्जामा ५ प्रतिशत ब्याजदर थियो ।
राष्ट्र बैंकबाट राष्ट्र बैंकले लिँदै आएको विशेष पुनरकर्जाको व्याजदर १ प्रतिशत विन्दुले बढेको छ भने लघु, घरेलु तथा साना उद्यम र साधारण पुनरकर्जाको ब्याजदर २र२ प्रतिशत विन्दुले वृद्धि भएको छ ।







