सहकारीमा मिटरब्याज : १० लाख ऋणको ब्याज साढे २ करोड माथि

नवलपुर । नवलपुर । ५५ वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । व्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर, सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ ।

दीर्घनारायणले भने, ‘चिन्ताले म डिप्रेसनको सिकार भएको छु । औषधि खानुपर्ने बनायो । छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ । यो तनावबाट परिवारै उम्कन सकेका छैनौँ ।’

भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचतकर्ता भए । त्यसको पाँच महिनापछि १० लाख रुपियाँ लगानी गरेर सेयर सदस्य भए । सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो । सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक पुख्र्यौली घर पर्वतका गाउँले भान्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले बताउँदै भने, ‘भान्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपियाँ ऋण लियौँ । अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपियाँ सकिइसकेको छ ।’

२०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपियाँ पुर्‍याइयो । त्यो ६० लाख असुल गर्नका लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो । उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपियाँ उपलब्ध गराइयो । छिपछिपे सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे नै सनराइज सहकारीको सचिव रहेको जानकारी दिइएको छ ।

२०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपियाँ पुगेको थियो । त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपियाँ पुर्‍याइयो । उता सनराइजको ब्याज महिना महिनामा तिरेको ३० लाख र ६ महिना अघिसम्मको जोड्दा थप १ करोड २६ लाख रुपियाँ पुगिसकेको थियो । त्यो ब्याज तिर्नका लागि भुर्तेल परिवार ४ करोड रुपियाँ पर्ने जग्गा २ करोड रुपियाँमै बेच्न बाध्य भयो र सनराइजको बाँकी रहेको १ करोड २६ लाख तथा छिपछिपेको ८५ लाख १६ हजार साँवा ब्याज तिरेर चुक्ता गरिसकेको छ ।

यहाँसम्म आइपुग्दा भुर्तेल परिवारले सनराइजलाई एक करोड ५६ लाख रुपियाँ र छिपछिपेलाई एक करोड १९ लाख रुपियाँ गरी दुई करोड ७५ लाख रुपियाँ बुझाइसकेको बताएको छ । जसमा २०७२ सालमा छिपछिपेमा राखेको १० लाख रुपियाँबराबरको सेयरको हिसाबकिताब र मासिक बचतको हिसाब कतै देखिन्न । सनराइज सहकारी भने बचतकर्ताको रकम हिनामिना गरेर बन्द भइसकेको छ ।

नवलपुर प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । छिपछिपेका प्रबन्ध निर्देशक योगेन्द्र पाण्डे, सनराइज सहकारी चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमाल र सहकारीबाट हिनामिना गरिएको रकम व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलाई पक्राउ गरिएको नवलपुरका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिए । ‘सरकारीमार्फत बचतकर्ताको रकम हिनामिनामा ठुलो गिरोह सक्रिय भएको देखिएकाले प्रहरीले अनुसन्धानलाई तीव्रता दिइएको छ,’ उनले भने । गोरखापत्रबाट

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *