जुम्लाबाट पूर्वराजाको आह्वान- राष्ट्रको पुरानो गौरव फर्काउन सबै लागि जुटौँ

काठमाडौँ।  पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन्। शुक्रबार जुम्लाको खलंगामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले देश बनाउनका लागि सबै एकजुट भएर राष्ट्रको पुरानो गौरव फर्काउनुपर्ने बताएका हुन्।

उनले भने, ‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ। आफ्नै भूगर्भभित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइराखेका छौँ। कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन? तर खै? त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ।’

उनले परिवर्तन पीडादायी भए पनि सधैँ आवश्यक हुने बताए। उनले भने,’परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ। याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन।’

उनले अब नयाँ संवाद, नयाँ समझदारी र नयाँ सम्झौतातर्फ जनमत बढ्दै गइरहेको आफूले अनुभव गरेको बताएका छन्।

उनले भने,’अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *