बैंकहरूको निक्षेप संकलन ७ प्रतिशतले बढ्यो, २०.३ प्रतिशत घट्यो हायर पर्चेज कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ७ महिनामा झण्डै ४ खर्ब रुपैयाँ बराबरको निक्षेप गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म बैंकहरूको निक्षेप ७ प्रतिशत बढेर ३ खर्ब ९७ अर्ब २० करोड संकलन गरेका हुन् । गत वर्षको सोही अवधिमा बैंकहरूले २ खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

वार्षिक बिन्दुगत आधारमा माघसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.२ प्रतिशत, बचतको अंश २७.४ प्रतिशत र मुद्दती निक्षेपको ५९.८ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चल्ती अंश ७.८ प्रतिशत, बचत अंश २५.८ प्रतिशत र मुद्दती निक्षेपको ६०.१ प्रतिशत रहेको थियो ।

साथै, कुल निक्षेपमा संस्थागत निक्षेपको अंश अघिल्लो वर्ष ३६.६ प्रतिशत रहेकोमा गत माघसम्म ३६.४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा कर्जा प्रवाह ४.१ प्रतिशत बढाएर १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ गरेका छन् । गत वर्षको सोही अवधिमा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वार्षिक बिन्दुगत आधारमा माघसम्म मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ । माघ मसान्तसम्म ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो ।

७ महिनाको अवधिमा कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशत, नगद प्रवाह कर्जा २६.० प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ११.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ११.६ प्रतिशत बढेको छ भने अधिविकर्ष कर्जा ४२.३ प्रतिशत (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.३ प्रतिशत घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *