काठमाडौं । सेयर बजारको ओरालो यात्राले बुधबार पनि निरन्तरता आएको छ । बुधबार नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८ अंकमा झरेको छ ।
कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढेको छ । यस दिन २९६ वटा कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँमा किनबेच भएको छ । मंगलबार ५७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यस दिन ६८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ८ को स्थिर रह्यो । त्यस्तै, आज कारोबारमा आएका १३ वटा उपसूचकमध्ये लगानी समूहको परिसूचक ०.०८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ ।
बुधबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५५८ रुपैयाँ पुगेको छ। यस्तै, हिमालयन लघुवित्तको सेयरमूल्य ८.५४ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयरमूल्य ६०० रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २३४ रुपैयाँ ८० पैसामा झरेको छ।
यस्तै, सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ७.७५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ।
बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २३४ रुपैयाँ ८० पैसामा १४ करोड ६० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ७.९९ प्रतिशत घटेको हो।
आईपीओको मूल्यभन्दा तल झरेपछि कम्पनीको सेयरमा खरिदकर्ता देखिएका छन् ।






