इजरायलमा मृत्यु भएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याइएको छ ।

पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइएको हो । आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ ।

न्यौपानेको शव भने गएराति नै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आज बिहान ल्याइएको धामी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै लगिएको छ । आशिषको शव पनि आइपुग्यो भने चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्ट थरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा चारवटा शव पठाइएको छ भने बाँकी ६ वटा शव पछि पठाइने छ ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *