एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले रुकुम पश्चिमको मुसीकोट नगरपालिका–९ मा कृषि तथा पशुपन्छी बीमाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडा अध्यक्ष शशिराम पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २६ जना स्थानीय कृषक तथा पशुपालक सहभागी थिए।

कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाको आवश्यकता, जोखिम व्यवस्थापनमा यसको भूमिका तथा सरकारी अनुदानसहितका प्रावधानबारे जानकारी दिइएको थियो। प्राकृतिक विपद्—बाढी, पहिरो, असिना, खडेरी—देखि रोगव्याधि, आकस्मिक मृत्यु र चोरीजस्ता जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरणका लागि बीमा प्रभावकारी माध्यम भएकोमा जोड दिइयो। साथै कृषि बीमासम्बन्धी प्रमुख प्रावधानहरूबारे पनि स्पष्ट पारिएको थियो।

कार्यक्रमको सहजीकरण कम्पनीको रुकुम पश्चिम उपशाखा प्रमुख हेमराज बोहराले गरेका थिए। सहभागीहरूले बीमा प्रक्रिया, प्रिमियम दर, दाबी भुक्तानी र आवश्यक कागजातबारे जिज्ञासा राख्दै व्यवहारिक जानकारी लिएका थिए।

कार्यक्रमको अन्त्यमा कृषकहरूले बीमाले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। कम्पनीका बिजनेस कोअर्डिनेटर सुनिल श्रेष्ठले ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तार गरी कृषकलाई सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *