काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको हो ।
पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको गरिएको हो ।
बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल टोली परिचालन गर्ने उनको भनाइ छ । उनले अनुगमन गरेर सचेत गराएर सुधारको मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउने बताएकी छिन् ।
तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण रहेको उनले बताए।
यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड रहेको बताए।







