काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ । नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने तयारी गरेको हो ।
विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा दिनुपर्ने एमालेको माग छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको हो । यसकै तयारीका लागि एमालेले संसदीय दलको बैठक १२ बजे बोलाएको एमाले संसदीय दलका मुख्य सचेतक पदम गिरीले जानकारी दिए ।
अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह नगरेको देखिएको एमालेका प्रमुख सचेतक गिरीले बताए । उनले भने, ‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसदमा हामी जोडदार रुपमा उठाउँछौं ।’
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरादम गरेको थियो ।






