सेयर बजार सीमित व्यक्तिको कब्जामा छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सेयर बजार सीमित व्यक्तिको कब्जामा परेको बताएका छन् । जसका कारण आम लगानीकर्ताले नोक्सान व्यहोर्नु परेको उनको भनाई छ । नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले करिब ५६ लाख लगानीकर्तालाई देखाएर सेयर बजारमा सीमित व्यक्तिहरूले मात्र लाभ लिइरहेको आरोप लगाएका हुन् ।

महतले भने, ‘सीमित व्यक्तिले चलखेल गरी बजार बढाउने/घटाउने काम भइरहेको रहेछ, उनीहरूका गतिविधिले आम सर्वसाधारण लगानीकर्ताले नोक्सानी बेहोरिरहेका छन ,यसलाई निस्तेज पार्न धितोपत्र बोर्ड लाग्नुपर्छ । सीमित व्यक्तिलाई मात्र लाभ पुग्ने गरी बजार सञ्चालन हुन दिनु हुँदैन ।’अर्थमन्त्री महतले बजारमा मौलाउँदै गएको यस्तो विकृति रोक्नका लागि प्रभावकारी रूपमा नियमन र सुपरिवेक्षण गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

महतले कम्पनीको महत्वपूर्ण सूचना चुहाएर गर्ने भित्रि कारोबार पनि बजारमा रहेको अर्थमन्त्री महतले बताए । उनले भने, ‘सेयर बजारमा भित्री कारोबार भइरहेको सुन्नमा आउँछ, ५६ लाख लगानीकर्ता भनेर भन्ने तर लाभ लिने बेला सीमित व्यक्तिले मात्र  लिनु ठीक भएन ।’

आगामी आर्थिक वर्षमा घोषणा भएको सेयर कारोबारमा करको विषयमा पनि तिनै सीमित व्यक्तिले विरोध गरेको उनले बताएका छन्  । व्यावसायिक रूपमा सेयर कारोबार गर्ने नागरिकहरूका लागि करका दरले कुनै फरक नपारेको पनि उनले बताए । बजारलाई प्रतिस्पर्धामा लैजान आवश्यक रहेको उनको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *