बीमा क्षेत्रको बिग मर्जर : ३ कम्पनी मर्ज भएर हिमालयन लाइफ इन्स्योरन्सको नामबाट कारोबार सुरु, चुक्ता पुँजी ८ अर्ब बढी

काठमाडौं। साविक प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफले जीवन बीमा क्षेत्रमा पहिलो विग मर्जरको इतिहास रच्न सफल भएका छन् ।

लाइफ इन्स्योरेन्सको युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरपछि आजबाट एकीकृत कारोबार आजबाट शुभारम्भ भएको छ । यी तीन वटै कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गरेका हुन् ।

यी ३ वटै कम्पनी समान अर्थात् १:१:१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जपछि युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर हुने सेयरधनीहरूले हिमालयन लाइफ इन्स्योरेन्सको पनि १०० कित्ता नै सेयर पाउनेछन्।

गत वैशाख ६ गतेको विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो । यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते अन्तिम स्वीकृति दिएको थियो ।

हिमालयन लाइफ इन्स्योरेन्समा मनोजलाल कर्ण सिईओ र सुलभ अग्रवालले अध्यक्षको नेतृत्व सम्हाल्नेछन् । मर्जरपछि बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने कम्पनीले जानकारी दिएको छ।

चुक्ता पूँजीका हिसावले दोस्रो ठुलो कम्पनी बन्न सफल हिमालयन लाइफले छिट्टै १० अर्ब पुर्याउने योजना बनाएको छ । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड पुगेको छ । साविक यूनियन लइफको चुक्ता पूँजी २ अर्ब ३४ करोड, गुराँस लाइफको २ अर्ब ५३ करोड र प्राइम लाइफको तीन अर्ब १४ करोड रुपैयाँ थियो । बराबरी हैसियतमा मर्जर सम्पन्न भएकाले चुक्ता पूँजी ८ अर्ब २ करोड पुगेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *