पुस्कर शाहले हामीलाई बदनाम गर्ने भाष्य निर्माण गर्न खोजे : सांसद अर्याल

काठमाडौं । विश्व साइकलयात्री पुस्कर शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे कार्यालय प्रवेशमा रोक लगाएको विषयले चर्चा पाएको छ । साइकलयात्री शाहले रास्वपाका उपसभापति डिपी अर्याललाई भेट्न जाँदा सेक्युरिटी गार्डले साइकल लिएर प्रवेश गर्न नदिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

शाहले आफुलाई गेटबाटै फर्काइएको र फोन गर्दा समेत डिपी अर्यालले फोन नउठाएको बताएका थिए ।

शाहको उक्त स्ट्याटसप्रति रास्वपाका उपसभापतिसमेत रहेका सांसद डिपि अर्यालले ध्यानाकर्षण गराएका छन् । उनले साइकलयात्री पुष्कर शाहलाई भेट्न बोलाएको स्वीकार गर्दै फोन गर्दै नउठे पनि तत्कालै फोन फर्काउँदा शाहले फोन काटेको बताएका छन् ।

पार्टी कार्यालयमा पार्किङ गर्ने ठाउँ थोरै भएकाले साइकल बाहिरै पार्किङ गर्न आग्रह गरिएको भए पनि सर्वसाधारणमा बदनाम गराउने भाष्य निर्माण गर्न खोजेको अर्यालले बताएका छन् ।

डिपी अर्यालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्व साइकल यात्री पुष्कर शाहले आज बिहान आफ्नो सामाजिक सञ्जाल ‘फेसबुकमा राख्नुभएको पोस्टमा’ मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हो, मैले उहाँलाई भेट्न बोलाएको थिए, उहाँ जस्तो व्यक्तित्वले भेट्न खोज्नु भयो भने सायदै कसैले विमति जनाउँछ होला । तर, दु:ख लागेको कुरा चाहिँ उहाँले फोन नउठेको कुरा चाहिँ समावेश गर्नु भएको रहेछ तर त्यस लगतै मैले फोन गरेको र उहाँले काटिदिनु भएको कुरा चाहिँ भन्न छुटाउनु भएछ ।

उहाँले भने अनुसार उहाँको साइकल नै भएको कारणले पार्टी कार्यालयभित्र राख्न दिइएन भन्ने कुरा लाई फेरी मैले खण्डन गर्नुपर्ने हुन्छ, किनभने हाम्रो स्टाफ देखि केन्द्रीय सदस्यहरूले पनि साइकल प्रयोग गर्नु हुन्छ ।

कुरा के रहेछ भने हाम्रो पार्टी कार्यालयमा पार्किङ गर्ने ठाउँ थोरै भएकाले अरू सबै पाहुनाहरू जस्तै उहाँलाई पनि आफ्नो साधन बाहिर राखिदिन अनुरोध गरिएको रहेछ । तर, उहाँले यसलाई सर्वसाधारणमा गलत ढङ्गले प्रस्तुत गरी हामीलाई बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नु भएको देख्दा साह्रै दु:ख लागेको छ ।
अन्त्यमा,
प्रिय पुष्कर जी,
तपाईँले बिहान भोग्नु परेको असहज परिस्थितिप्रति माफी माग्न चाहें । तर, अधुरो र अपुरो कुरा मात्रै पोस्ट गर्नु भएकोमा दु:ख पनि लागेको छ । साथै, तपाईँको सुरुवाती दिन देखि नै मेरो साथ र समर्थन थियो , छ र रहनेछ यो यहीँबाट स्मरण गराउन चाहे ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *