एशियन लाइफ इन्स्योरेन्सको १५औं साधारणसभा सम्पन्न

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनस सेयर र ०.४४७ प्रतिशत(कर प्रयोजनका लागी) नगद लाभांशको प्रस्ताव साधारण सभाले पारित गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी रु. २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँको ८.५ प्रतिशतले हुन आउने रु. २४ करोड ७१ लाख ८९ हजार ४४२ बराबरको बोनस सेयर वितरण गर्नेछ। सभाले कर प्रयोजनको लागि रु.१ करोड ३० लाख ९ हजार ९७० नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्तावसमेत पारित गरेको छ।

यसका साथै बोनस सेयरपश्चातको हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्नसमेत सभाले स्वीकृत गरेको छ। यसैगरी कम्पनीको अधिकृत पुँजीलाई रु. ५ अर्बबाट रु. ६ अर्ब कायम गर्न प्रबन्धपत्रको दफा ६.१(क) मा संशोधनको प्रस्ताव समेत पारित भएको छ।

सभामा अध्यक्ष श्रेष्ठबाट पेस भएको सञ्चालक समितिको प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष.२०७८–७९ (एनएफआरएस) बमोजिम असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सोसम्बन्धी अनुुसूचीहरुमाथि छलफलसहित पारित गरेको छ। आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाबाट पारित भएको छ।

विशेष प्रस्तावअन्तर्गतको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत साधारणसभाबाट पारित भएको छ। यसैगरी कम्पनीले व्यावसायिक रुपमा बहालमा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने प्रस्तावसमेत पारित भएको छ।

कम्पनीको चालु आ.व. २०७९–८० को फागुनसम्ममा जीवन बीमाकोष रु. ३५ अर्ब ६० करोड र कुल लगानी रु. ३९ अर्ब ८ करोड छ। कम्पनीको फागुन मसान्तसम्मको कुल बीमाशुल्क आम्दानी रु.४० अर्ब ८५ करोड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *