नेपाल टेलिकमले खोस्यो सयौँ कर्मचारीको रोजीरोटी,पुनर्स्थापना नगरे देशभरका श्रमिक उतार्ने चेतावनी

नेपाल टेलिकमले वैशाख १ गतेदेखि आउटसोर्सिङ कम्पनीका २ सय १७ जना प्राविधिक सहायकलाई कामबाट निष्काशित गर्यो । टेलिकमले आउटसोर्सिङ कम्पनी परिवर्तन गरेसँगै पुराना कम्पनीमार्फत टेलिकममा जोडिएकाहरूको रोजगारी गुमेको पुग्यो । श्रम ऐन अनुसार आउटसोर्सिङ कम्पनीको स्वामित्व परिवर्तन हुँदा पनि मुख्य रोजगारदातासँगको सम्बन्ध यथावत् रहनुपर्ने व्यवस्था छ ।

तर नेपाल टेलिकमले वर्षदेखि काम गर्दै आइरहेका प्राविधिक सहायकलाई कामबाट हटायो । यसको विरोधमा निष्काशित कर्मचारीहरुले विरोध गरिरहेका छन् । उनीहरु विगत १० दिनदेखि निरन्तर टेलिकमबाहिर विरोध प्रदर्शनसहित धर्नामा छन् । आफूहरुको रोजीरोटी खोसेको भन्दै कर्मचारीहरु धर्नामा बसेका हुन् ।

अखिल नेपाल संघसंस्था, सञ्चार तथा छापाखाना श्रमिक संघ नेपाल टेलिकम मूल इकाई समितिले निष्काशित कर्मचारीको रोजगारी निरन्तरताको माग राख्दै निरन्तर टेलिकमलाई दबाब दिइरहेका छन्  ।

लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छाचारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको गर्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले श्रम ऎन लागु गर ,निष्काशित कर्मचारीहरु पुनःबहाली गर, संसारका मजदुर एक हौं, सबैखाले ठेकदारी प्रथाको अन्त्य गर लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालो पट्टी समेत बाँधेर नेपाल टेलिकमको बिरोध गरिरहेका छन् ।

श्रम ऐनका अनुसार नियमित कामका लागि नियमित रोजगारीको व्यवस्था गर्नुपर्छ । तर टेलिकमले श्रम ऐनलाई नै लत्याएर आउटसोर्सिङबाट आएका कर्मचारीलाई हटाएको नेपाल ट्रेड युनियनका महासचिव शालिकराम काफ्ले बताउँछन् ।

करिब १५ वर्षदेखि टेलिकमलाई समृद्ध, व्यवस्थित र राम्रो बनाउन लागि पर्ने कर्मचारीलाई बिनाकारण गैरकानुनी ढंगबाट निष्काशित गर्न नमिल्ने उनी बताउँछन् । युवालाई देश भित्र रोजगार दिएर प्रोत्साहन गर्नुपर्ने ठाउँमा सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले नै यसरी श्रमिकलाई स्वेच्छाचारी हटाएर युवाको रोजीरोटी खोस्न खोजेको उनको आरोप छ ।

योगेश लामा निरन्तर ८ वर्षदेखि टेलिकममा कार्यरत थिए । उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटीभिटी) बाट तालिम प्राप्त दक्ष जनशक्ति हुन् । तर उनको दक्षता र ८ वर्षदेखिको श्रमलाई टेलिकमले चिन्न सकेन । उनी भन्छन्, ‘हामीले तालिम प्राप्त गरी अनुभवले निखारिएको कर्मचारीले टेलिकमले चिनेन । ठेक्कापट्टा र कमिशनको लोभले टेलिकमले वर्षौदेखि काम गर्दै आएका कर्मचारीलाई निकाल्यो ।’

नेपाल टेलिकमले युवा र दक्ष जनशक्तिलाई बेरोजगार बनाएको उनको आरोप छ । टेलिकमले श्रम ऐन बमोजिम निष्काशित सम्पूर्ण कर्मचारीलाई नियुक्त गर्नुपर्ने बताए ।

प्रमिला खत्री पनि विगत ८ वर्षदेखि नेपाल टेलिकममा अहोरात्र खटिएकी थिइन् । सुत्केरी हुँदा समेत उनले बिदा पाइनन् । उनी भन्छिन्, ‘ मैले आठ वर्षदेखि काम गरे । तर अहिले कम्पनीले हामीलाई थाहा नै नदिई हाम्रो रोजीरोटी खोस्यो । दुख गरेर सर्टिफिकेट निकाल्न लगाइयो । अब त्यो ट्रेनिङ र सर्टिफिकेट कहाँ लगेर युज गर्नु ?’ उनी थप्छिन्, अहिले टेलिकमले चिन्दैनौ भन्छ । हाम्रै श्रमले टेलिकमलाई उचाइमा पुर्याएको छ । अहिले चिन्दैनौ भन्न मिल्छ ?’

टेलिकममै काम गरेर जीविकोपार्जन गरिरहेकाहरुको  अहिले बिचल्ली भएको उनी सुनाउँछिन् । टेलिकमले श्रम ऐन अनुसार आफूहरूलाई सेवा सुविधा समेत नदिएको उनीहरुको गुनासो छ ।

एकदिन विदा बस्दा पनि डेढ दिनको तलब कट्टा गर्ने, आवश्यक पर्दा नि बिदा नदिने सातै दिन खटिनुपर्ने बाध्यात्मक अवस्था रहेको निष्काशित कर्मचारीहरु बताउँछन् ।

निरन्तर धर्नामा बस्दा पनि टेलिकमले आफूहरुको माग सम्बोधनमा कुनै चाँसो नदेखाएको काफ्ले बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रो पहिलो माग हाम्रो २१७ जना कर्मचारीको पुनःवहाली, आउट सोर्सिङको अन्त्य गरियोस् भन्ने दोस्रो माग हो । लामो समय काम गरेका कर्मचारीहरुलाई निष्कासन गरेको विरुद्ध हामीले आन्दोलन गरेका हौँ । कर्मचारीको पुनःबहाली नगरीकन हाम्रो आन्दोलन जारी रहन्छ ।’

श्रमिकको आन्दोलनमा सम्पूर्ण पक्षको ऐक्यबद्धता र साथ आवश्यक रहेको उनले बताए । माग पूरा नगरेमा देशभरको श्रमिक उतारेर प्रदर्शन गर्ने समेत उनले चेतावनी दिए ।

श्रम ऐनमा के छ कानूनी व्यवस्था ?

श्रम ऐन र नियमावलीमा मुख्य रोजगारदाताको दायित्व अन्तर्गत मुख्य रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने पारिश्रमिक र भत्ता बाहेक अन्य सेवा सुविधामा प्रतिष्ठानका श्रमिक र श्रमिक आपूर्तिकर्ता मार्फत कार्यरत श्रमिकबीच भेदभाव नगर्ने भनेर स्पष्ट लेखिएको छ । तर टेलिकमले श्रम ऐनको समेत बेवास्ता गर्दै चरम विभेद गरेको आन्दोलनरत कर्मचारीहरुको गुनासो छ ।

श्रम ऐन अनुसार रोजगारदाताले श्रमिकलाई भेदभाव गर्नु हुँदैन । तर टेलिकमले आफुहरुलाई भेदभाव गरेको उनीहरुको गुनासो छ । गर्भवती श्रमिकलाई पारिश्रमिक र सुविधामा कटौती नगरी निजको शारीरिक अवस्था अनुसार सहज र उपयुक्त काममा लगाउनुपर्नेमा टेलिकमले यस्तो अवस्थामा समेत काम लगाएको सुत्केरी हुँदा समेत बिदा नदिने गरेको उनीहरुको गुनासो छ ।

श्रम ऐन अनुसार कुनै रोजगारदाताको काम वा व्यवसाय वा को को कुनै भाग कानुन बमोजिम स्वामित्व हस्तान्तरण भएमा वा त्यस्तो काम वा व्यवसाय सञ्चालन गर्न अरु कसैलाई दिएमा वा दुई वा दुईभन्दा बढी प्रतिष्ठान वा व्यवसाय आपसमा गाभेर नयाँ प्रतिष्ठान वा व्यवसाय सिर्जना भएमा त्यसरी स्वामित्व परिवर्तन वा हस्तान्तरण भएमा सो प्रतिष्ठानमा श्रमिकको रोजगार सम्बन्ध कायम रही रहनेछ । टेलिकमले भने आउटसोर्सिङ कम्पनीको स्वामित्व परिवर्तन भएको भन्दै कर्मचारीहरुलाई स्वेच्छाचारी ढंगबाट हटाएको छ ।

के भन्छ नेपाल टेलिकम ?

यता वैशाख १ गतेदेखि आउटसोर्सिङ कम्पनीका २ सय १७ जना प्राविधिक सहायकलाई कामबाट निष्काशित गरेको बिषयमा नेपाल टेलिकम जवाफदेही छैन । टेलिकमले एक विज्ञप्ति नै सार्वजनिक गरेर आफ्नो कार्यालय बाहिर आन्दोलन गरिरहेको समूह नेपाल टेलिकमसंग सम्बन्धित नरहेको जानकारी गराएको छ ।

नेपाल टेलिकमका सहायक प्रवक्त परमात्मा भट्टराई यो बिषय कर्मचारी र रोजगारदाता कम्पनी अर्थात् सेक्युरिटी  कम्पनी बिचको भएकाले आफुहरुसंग सरोकार नभएको बताउछन् । उनले भने, ‘श्रम ऐन विपतित काम भएको रहेछ भने उजुरी परेको खण्डमा हामी पनि अनुसन्धान गर्छौ,तर कर्मचारी राख्ने या हटाउने भन्ने बिषय हाम्रो होईन। ‘

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *