मोदी ईनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो।
सोमध्ये आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।
सो सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर थप गरी कुल ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा वैशाख १९ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा ढिलोमा जेठ २ गतेसम्म बिक्री खुला हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।







