ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार बैंकको खुद नाफा बढेको छ
यो अवधिमा बैंकको खुद नाफा १६.९६ प्रतिशतले बढेर ४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब ४३ करोड रुपैयाँमा सीमित थियो।
तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १७.२० प्रतिशतले बढेर ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ५ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो। बैंकको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने १.४५ प्रतिशतबाट बढेर ३.९६ प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि ४३ करोड ५६ लाख रुपैयाँबाट बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।
चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँको बैंकको जगेडा कोषको आकार भने ७८.११ प्रतिशतले बढेर १९ अर्ब ६ करोड रुपैयाँको उचाइमा पुगेको छ। बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २०.८८ रुपैयाँबाट घटेर १७.०८ रुपैयाँ कायम भएको छ। पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ रहेको छ।







