को हुन् नवनियुक्त अर्थमन्त्री डा.महत ?

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको अर्थमन्त्रीमा अन्ततः डा. प्रकाशशरण महतले बाजी मारेका छन् । सत्तारुढ दलहरुबीचको लामो रस्साकस्सीपछि नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा. महत अर्थमन्त्री बनेका हुन् । पूर्वमन्त्रीसमेत रहेका डा. महतले बाजी मारेका मात्र होइनन्, धरमराएको मुलुकको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन मत्वपूर्ण जिम्मेवारी सम्हाल्ने आँट पनि गरेका हुन् भन्दा दुईमत नहोला ।

विज्ञ अर्थमन्त्री

नवनियुक्त अर्थमन्त्री डा. महत अर्थ क्षेत्र बुझेका व्यक्ति हुन् । यसर्थ उलाई मुलुकको अर्थतन्त्र सुधार गर्न सक्षम व्यक्तिका रुपमा विश्वास गरिएको सत्तारुढ दलका नेताहरु बताउँछन् ।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका महत दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री भइसकेका छन् । तर उनले अर्थ मन्त्रालयको नेतृत्व पहिलो पटक सम्हाल्दै छन् ।

डा. महतले अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउदर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनले त्यही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स) मा समेत स्नातकोत्तर गरेका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका, अन्तर्राष्ट्रिय जगतमा परिचित

२०१६ साल कात्तिक १८ गते नुवाकोटको कविलासमा जन्मिएका डा. महत विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । २०२७ देखि विद्यार्थी राजनीतिमा सक्रिय भएर आफ्नो राजनीतिक जीवनको सुरुवात गरेका उनले २०४० देखि ०४४ सम्म नेपाल विद्यार्थी संघको महासचिवको जिम्मेवारी सम्हालेका थिए । २०५९ मा पार्टीको महासचिव पदमा चुनाव हारेपछि महतले २०७८ सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा काम गरे । लोकतान्त्रिक आन्दोलन, द्वन्द्व समाधान र देशको शान्ति प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै समावेशी आर्थिक विकासको एजेन्डालाई अगाडि बढाउँदै आएका महतका श्रीमती र दुई सन्तान छन् ।

नवनियुक्त अर्थमन्त्री डा. महत कांग्रेस सभापति शेरबहादुर देउवालाई सधैं सहयोग गर्दै आएका इमान्दार नेताको छवि भएका व्यक्ति हुन् । उनले आफूलाई सभापति देउवाले दिने निर्देशन र जिम्मेवारी बहन गर्दै आएका छन् । उनी पूर्वअर्थमन्त्री डा. रामशरण महतका भाइ हुन् ।

डा. महत २०६६ मा ऊर्जा तथा २०७३ मा परराष्ट्रमन्त्री बनेका थिए । २०७३ सालमा परराष्ट्र मन्त्रालय सम्हालेका बेला डा.महतले भरत, चीन, अमेरिका, युरोपसहितका देशहरूसँग राम्रो कुटनैतिक सम्बन्ध स्थापित गरेका थिए । यसर्थ उनलाई अन्तर्राष्ट्रिय जतमा पनि परिचित व्यक्ति मानिन्छ ।

तत्कालीन समयमा डा. महतले भारतसँग बिग्रिएको सम्बन्धलाई सुधार गरेका थिए । उनले भारतको भ्रमण गरेपछि भारतबाट खुलेर आपूर्ति व्यवस्था सुचारु भएको थियो । तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि नेपाल भ्रमणमा आएकी थिइन् । उनको कार्यकालमा नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजना सुचारु भएका थिए ।

डा.महत परराष्ट्रमन्त्री भएकै बेला चीन सरकारले प्रस्ताव गरेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई)लाई नेपालको हितअनुकूल हुने गरी कार्यान्वयनमा ल्याउने सम्झौतामा हस्ताक्षर पनि भएको थियो ।

डा.महत २०६६ देखि २०६७ सम्म ऊर्जामन्त्री बने । त्यसबखत पनि ऊर्जा क्षेत्रमा उल्लेखख्य कामहरु भएका छन् । उनले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय गरेका थिए भने उनकै कार्यकालमा नेपाल–भारत अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्ने निर्णय भएको थियो ।

ढल्केबर–मुजफफ्पुर ४ सय केभी प्रशारण लाइन निर्माणले नेपालको लोडसेडिङ अन्त्यमा टेवा पुगेको थियो । माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा रहेका बेला सन् १९९९ मा सरकारले गठन गरेको माओवादी समस्या समाधान समिति सदस्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका डा. महतलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २००१ सेप्टेम्बरदेखि २००२ मेसम्म सल्लाहकार नियुक्त गरेका थिए ।

नवनियुक्त अर्थमन्त्री महत विक्रम संवत २०५८ चैतदेखि २०५९ असोजसम्म राष्ट्रि«य योजना आयोगको सदस्य पनि बनेका थिए । विक्रम संवत् २०६३ देखि २०६४ सम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि डा. महतलाई २०६४ साउनदेखि २०६४ फागुनसम्म विभिन्न विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्य बनाइएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *