ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कपको लगातार तेस्रो पटक उपाधि जित्ने क्रममा एपीएफले कोशी प्रदेशलाई हराएको हो ।
टियु मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गरि एपीएफ च्याम्पियन भएको हो । एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले ४१ बलमा ३५ रन बनाउँदा लकिता राजवंशीले अविजित २१ रन बनाईन् । अप्सरी बेगमले १० रन बनाईन् । एपीएफका लागि बिनु बुढाले २ तथा सोनु खड्का, रेखा रावल र नेरी थापाले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो । यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफल हो ।
एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् ।
इन्दु बर्माले ४१ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो ।
कोशीका लागि अलिसा खडियाले १ विकेट लिईन् । अपराजित रहँदै एपीएफ च्याम्पियन बनेको हो ।







