उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकको क्षेत्राधिकारमाथि सरकारले हस्पक्षेप नगर्ने स्पष्ट पारेका छन् । राष्ट्र बैंक स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको क्षेत्राधिकारमा सकारले कुनै पनि हस्तक्षेप नगर्ने उनले बताए ।
सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीब्रताका लागि समेत आफूहरु लागेको बताए ।
‘ब्याजदर महँगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फीतिलाई नियन्त्रण गर्दै महँगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो,’ उनले भने, ‘राष्ट्र बैंक आफैं स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप गर्दैन ।’
अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताए ।







