गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौँ आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ ।
छ महिना पहिलेदेखि तीन बस सञ्चालनमा रहेको र अहिले आइपुगेका ३७ बस सञ्चालनका लागि जाँचका क्रममा रहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । जाँच सकाएर त्यसको प्रतिवेदन आएपछि दर्ता गरिने उनले बताए । उनले भने, “परीक्षण सकाएर दर्ता गर्न अब केही समय लाग्नसक्छ ।” बस सञ्चालनका लागि बाटो इजाजतपत्र लिनुपर्ने हुन्छ । रुट निर्धारण गर्दा सकेसम्म हाल कम सङ्ख्यामा बस भएका रुटमा राखिने उनले बताए । साझा यातायातका पेट्रोलियम र विद्युतीय सबै बसहरुमा सरकारले तोकेबमोजिम भाडादर रहेको छ ।
अहिले आएका सबै सहरी बस (सिटी बस) रहेको र यी काठमाडौँ उपत्यकाभित्रै सञ्चालन हुने संस्थाले जनाएको छ । पहिले ल्याइएका बस र अहिले आएका बसको लम्बाइ, चौडाइ क्षमता सबै उस्तै रहेको उनले बताए । उनले भने, “पहिले परीक्षणका लागि ल्याइएकामा अहिले थप ल्याइएको हो ।” यी बसहरुमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा एक सय ६१ किलोवाट रहेको छ, बस एकपटक पूरै चार्ज गर्दा दुई सय किलोमिटर चल्नेछन् ।
अरू सामान्य बसभन्दा विद्युतीय बस होचो र सानो हुँदा अपाङ्तामैत्रीसमेत रहेका छन् । होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान राखिएकोे छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । हाल सञ्चालनमा रहेका साझाका तीन विद्युतीय बस सञ्चालनका हिसाबले ठीक नै रहेको पाण्डेयले बताए ।
ती बसहरु हाल दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे हुँदै जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल हुँदै त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन भइरहेका छन् । विद्युतीय बस पेट्रोलियम बसका तुलनामा होचो हुने भएकाले खाल्डाखुल्डी भएको सडकमा गाह्रो हुने हुँदा कालोपत्र सडकमा गुडाइने उनले बताए । सञ्चालनमा रहेका बसजस्तै नयाँ आउने बस खाल्डा नभएको सडकमा गुडाइने उनले बताए ।






