काठमाडौं । ‘को होला त्यो’ फ्रेम्ड गायक सुनिल गिरीले विल्कुलै नयाँ स्वादमा जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । हरेक गीति श्रृजनामा फरक पन र मौलिकता खोज्न माहिर चर्चित गायक गिरीले काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
गिरीले सार्वजनिक गरेको गीतको भिडियोमा जुम्लाका रमणीय दृष्यहरु मात्र देखाइएको छैन, त्यहाँको मौलिक रहनसहन देखाउनुको साथै डोटेली भाषा र लवजमा टिकटक भिडियो बनाएर भाइरल बनेकी मिस पबि र रोसन केसीको प्रेमिल कौतुहलतालाई संयोगान्त कथा बुनेर मनोरञ्जक बनाएका छन् ।
अमन नीलसागरसँग मिलेर मौलिक शब्द रचना गरेका गायक गिरीले भाका र संगीत संयोजनसमेत आफैं गरेका छन् । मुख्य स्वर गिरी आफैंले दिएको यस गीतमा किशोर विश्वकर्मा र युवराज मगरको पाश्र्व स्वर सुन्न सकिन्छ ।
विवेक बिकले खिचेको भिडियोमा दावा तामाङको कोरियोग्राफी रहेको छ भने गिरी आफैंले बुनेका कथामा शिशिर खातीले निर्देशन गरेका छन् । कार्यक्रममा जुम्लाबाट प्रतिनिधिसभामा विजयी राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही तथा डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकाल लगायतको उपस्थिति रहेको थियो । भिडियो हेर्न तलको link क्लिक गर्नुहोस् : https://youtu.be/HDC-L0Zuu_A






