गगन थापाको बैठक स्थलबाट समर्थकले समाते दुई प्रहरी

नेपाली कांग्रेस संसदीय दलको चुनावको पूर्वसन्ध्यामा कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गगन थापाको निगरानीमा प्रहरी परिचालित गराइएको आरोप लागेको छ ।

कांग्रेस महामन्त्री थापा बैठकका लागि पुगेको लाजिम्पाटस्थित एक होटलमा मंगलबार राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेका थिए । त्यसक्रममा दुवै जनाको साथमा नेपाल प्रहरीको परिचय पत्र भेटिएको थापाका समर्थकहरुले बताएका छन् ।

तीमध्ये एक जनाको साथमा नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाको परिचय पत्र भेटिएको थापाका सहयोगी सबिन मुडभरीले जानकारी दिए। तीमध्ये एकजना जवान र अर्का प्रहरी नायब निरीक्षक भएको खुलेको छ । दुई जनालाई घेरा हालेपछि अन्य केही व्यक्तिहरु भागेको उनले बताए । ‘अपराह्न गगन दाइको गाडीमा पनि एउटै नम्बरको मोटरसाइकलले फलो गरिरहेको थियो’, मुडभरीले भने – ‘त्यसबेला गाडी रोकेपछि उनीहरु अलमलिए झैँ गरेका थिए ।’                     

राति थापा बसेको होटल वरिपरि प्रहरी जस्ता देखिने व्यक्तिको चहलपहल बढेपछि आफूहरुले पनि निगरानी गरेको उनले बताए । भने, ‘आउँदै फोनमा बोले जस्तो गर्दै होटलमा आउने जति सबै हेरिरहेका थिए ।’

कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव हुँदैछ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *