पत्रकार महासंघ सर्लाहीले भन्यो, पत्रकारमाथि दिनदहाडै आक्रमण हुनु लोकतन्त्रकै लागि दुर्भाग्य

पत्रकार महासंघ सर्लाहीले रिर्पोटिङका क्रममा बागमती नगरपालिका पुगेका दुई पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । रिर्पोटिङका क्रममा सर्लाहीको बागमती नगरपालिका पुगेर फर्किने क्रममा अनलाइनपानाका प्रधान सम्पादक नारायण प्रसाद अधिकारी र पत्रकार शालिक भट्टमाथि बुधबार पूर्व–पश्चि राजमार्गमा नियोजित आक्रमण भएको थियो ।

अनलाइनपानाले नगरपालिकाले कानुनविपरित बनाएको भरत तालका कारण त्यहाँका नागरिक सुकुम्बासी बनेका विषयमा निरन्तर फलोअप समाचार सम्प्रेषण गर्दै आएको थियो । मेयरले अन्तर्वार्तामार्फत थप कुरा प्रष्ट पार्ने भनेर मेयर थापाकै भाइ रामकुमार थापाले बोलाएपछि अनलाइनपानाकर्मी पत्रकारद्वय अधिकारी र भट्ट त्यहाँ पुगेका थिए । तर पत्रकारद्वयमाथि मेयर थापाकै भाइ रामकुमार सहितकाे टाेलीले बाटाेमा गाडी राेकेर कुटपिट गरेका थिए ।

पत्रकारमाथि यसरी दिनदहाडै आक्रमण हुनु लोकतन्त्रकै लागि दुर्भाग्यपूर्ण भन्दै पत्रकार महासंघ सर्लाहीले दोषीको पहिचान गरी तत्काल कारबाही गर्न जोडदार माग गरेको छ । ‘पत्रकारमाथि यसरी दिनदहाडै पूर्व पश्चिम राजमार्गमा सवारी छेकेर आक्रमण गर्नु लोकतन्त्रकै लागि दुर्भाग्य हो’, महासंघ सर्लाहीका सचिव सुनिल ठाकुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई कुटपिट गर्नेको पहिचान गरी संलग्नलाई तत्काल कारबाही गर्न महासंघ जोडदार माग गर्दछ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *