काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति असन्तुष्टि जनाउँदै राज्यका निकायहरू पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुन नहुने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्ञवालीले अनुसन्धान र न्याय निरूपणको स्थापित विधि मिचिएको आरोप लगाए।
उनका अनुसार कानुनी प्रक्रियाअनुसार पहिले निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्ने, त्यसपछि अभियोजन र अदालतको निर्णयका आधारमा मात्रै नियन्त्रणमा लिने व्यवस्था हुनुपर्छ।
‘पहिले गिरफ्तार गर्ने र त्यसपछि अनुसन्धान सुरु गर्ने प्रवृत्ति लामो समयदेखि दोहोरिँदै आएको छ,’ उनले लेखेका छन्, ‘कानुनी राज्यमा यस्तो अभ्यास उपयुक्त होइन।’
ज्ञवालीले एमाले सधैं विधिको शासन, निष्पक्ष अनुसन्धान र न्यायालयको निर्णयको सम्मान गर्ने पक्षमा रहेको उल्लेख गर्दै आफूमाथि लागेका आरोपको कानुनी रूपमा सामना गर्न पार्टीका नेताहरू तयार रहने बताए।
उनले राज्यका संवैधानिक तथा कानुनी निकायका निर्णय प्रतिशोधप्रेरित हुन नहुने उल्लेख गर्दै अनुसन्धान प्रक्रियाको शैलीमाथि प्रश्न उठाएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले सोमबार उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। उनलाई हाल नेपालगञ्जमा राखिएको छ भने मंगलबार काठमाडौं ल्याउने तयारी गरिएको जनाइएको छ।






