युद्धविरामपछि: मध्यपूर्वमा रहेका १९ लाख नेपाली श्रमिकलाई ठूलो राहत, रोजगारी थप बढ्ने सम्भावना

काठमाडौं । अमेरिका–इरान युद्ध अन्त्यतर्फ उन्मुख भएसँगै मध्यपूर्वमा कार्यरत लाखौं नेपाली श्रमिक र उनीहरूका परिवारमा राहतको अनुभूति भएको छ।

?पाकिस्तानको मध्यस्थतामा युद्धविरामको सहमति नजिक पुगेको भनाइ सार्वजनिक भएपछि वैदेशिक रोजगारी र विप्रेषणमा देखिएको अनिश्चितता कम हुने अपेक्षा गरिएको छ।

युएई, साउदी अरब, कतार, कुवेत, बहराइनलगायत मध्यपूर्वी मुलुकमा करिब १९ लाख नेपाली कार्यरत छन्।

श्रम तथा आप्रवासन विज्ञहरूले युद्धविरामले श्रमिकको सुरक्षा, रोजगारी र परिवारको चिन्ता कम गर्नुका साथै नेपालको विप्रेषण आयमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

विज्ञहरूका अनुसार युद्धका कारण ठूलो संख्यामा नेपाली स्वदेश फर्किनुपर्ने जोखिम तत्कालका लागि टरेको छ।

साथै, सरकारले भविष्यमा यस्ता संकटका बेला उद्धार, पुनर्स्थापना र रोजगारी व्यवस्थापनका लागि पूर्वतयारी गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

समाजशास्त्री तथा श्रम विज्ञ डा. मीना पौडेलले युद्ध प्रभावित क्षेत्रमा पुनर्निर्माण सुरु हुँदा श्रमिकको माग बढ्न सक्ने र त्यसबाट नेपाली श्रमिकले अवसर पाउन सक्ने बताइन्।

श्रम कूटनीतिलाई प्रभावकारी बनाएर सुरक्षित र वैधानिक वैदेशिक रोजगारी सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

अधिवक्ता तथा श्रम विज्ञ सोम लुइँटेलले युद्धविरामले क्षेत्रीय तनाव कम गर्ने र रोजगारी तथा आर्थिक गतिविधि सहज बनाउन सहयोग पुग्ने बताए।

उनले भविष्यमा यस्ता संकट दोहोरिन सक्ने भएकाले उद्धार तथा रोजगारी व्यवस्थापनसम्बन्धी स्पष्ट रणनीति आवश्यक रहेको उल्लेख गरे।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इरान द्वन्द्वले विश्व ऊर्जा बजारमा समेत प्रभाव पारेको थियो।

होर्मुज जलडमरूमध्यमा देखिएको अवरोधका कारण तेलको मूल्य बढेको थियो। युद्धविरामसँगै ऊर्जा आपूर्ति सहज हुने र तेल बजारमा स्थिरता आउने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *