काठमाडौं । आठ वटा विश्वविद्यालयका उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असार १३ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ।
सिफारिस समितिले मंगलबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार १३ गते त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ।
त्यसैगरी, असार १४ गते पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता लिइनेछ। पोखरा विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार १५ गतेका लागि तय गरिएको छ।
तोकिएको समयभन्दा १ घण्टा अगावै सक्कल कागजातसहित उपस्थिति हुन उम्मेदवारहरूलाई भनिएको छ ।
गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिका लागि खुला आह्वान गरिएको थियो । आवेदन परेकाहरू अध्ययन अनुसन्धान गरेर सर्टलिस्टमा परेका उम्मेदावरको प्रस्तुतीकरण र अन्तर्वार्ता लिन लागिएको हो ।
विज्ञले दिएको अंकको आधारमा सिफारिस समितिले उपकुलपतिको नाम छनोट गरेर कुलपतिलाई सिफारिस गर्ने छ । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।
हेर्नुहोस् अन्तर्वार्तासम्बन्धी सूचना :






