काठमाडौं। हिमालयन पावर पार्टनर लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले आज (जेठ २७ गते)देखि कुल ४ लाख ६८ हजार ७४० कित्ता शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर यसअघि वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा जारी गरिएको हकप्रदमा आवेदन नपरेपछि अवितरित रहेका थिए। अब ती शेयर लिलामी प्रक्रियाबाट पुनः बिक्री गर्न लागिएको हो।
यो शेयरमा खरिदका लागि जोकोही व्यक्ति, संस्था र कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद निवेदन दिन सकिनेछ।
लिलामीमा राखिएको शेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र आउँदो असार ४ गते बैंकिङ समयसम्म बुझाउन सकिनेछ।






