काठमाडौँ । शनिवार मध्यरातमा देशका प्रधानमन्त्री बालेन्द्र शाह बरालिएका छन्। देशका प्रधानमन्त्री बालेन्द्रले पदीय हैसियत भुलेर बरालिँदै लेखेको फेसबुक स्टाटसले सिङ्गो देश जिल्ल परेको छ, लज्जित बनेको छ। प्रधानमन्त्री बालेन्द्र मात्र होईन, उनीसँगै उनका मन्त्री सांसद, सल्लाहाकार तथा सहयोगी तथा प्रधानमन्त्रीको सिङ्गो कोर टीम नै ‘होलिडे’ को मनोरञ्जन लिइरहेका छन् । बालेन्द्रको कमेन्ट बक्समा आएर उनको यो स्तरहीन स्टाटको मनोरञ्जन लिइरहेका छन् ।
प्रधानमन्त्री बालेन्द्रको स्टाटसमा शिक्षामन्त्री सस्मित पोखरेल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला लगायतले कमेन्ट गर्दै जिस्किरहेका छन् ।
शनिवारको ”होलिडे” मध्यरातमा प्रधानमन्त्री बालेन्द्र साहले लेखेका छन् , ‘Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhane yesso dinus na?’
बालेन्द्रको यो उत्ताउलो एवम् स्तरहीन स्टाटसले उनको बौदिकता, पदीय हैसियत, परिपक्कता र जवाफदेहिताको मापन गरेको छ।
हुन त बालेन्द्र शाह आँफूभन्दामाथि कोहि नभएको अर्थात् आफुले आफैलाई सर्वेसर्वा ठान्छन्। यो उनको पुरानै प्रवृति हो। तर, प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा पुगिसकेका बालेन्द्रले नेपाल सरकारको एउटा बहालवाला सचिव यो पनि आफ्नै मातहतका लाई सार्वजनिक रूपमै गिज्याउँदै गर्दा सिङ्गो देशको इज्जत कहाँ पुग्छ भन्ने हेक्का राखुपर्थ्यो।
बालेन्द्रको स्टाटसको अन्तर्य
केहि दिन अघि नेपाल सरकारका सचिव कृष्णहरी पुस्करले आफ्नो जागिर सकिनै लागेको र राजदुत पदमा दर्खास्त माग गरिएको बिषय स्मरण गराउँदै पुरानो चिनजानका हिसावले पनि सुझाव लिन बालेन्द्रलाई एउटा एसएमएस गरे। तर, सस्तो लोकप्रियता अंगाल्दै आएका बालेन्द्रले उनलाई सुझावको सट्टा रातारात प्रहरी लगाएर पक्राउ गरे।
बालेन्द्रका केहि भजन मण्डलीबाहेक अधिकांशले यसलाई पनि ‘आनावाश्यक स्टन्ट’ बाहेक केहि भनेनन्। त्यतिबेला पनि प्रधानमन्त्री बालेन्द्रसँग ‘एसएमएस’ इग्नोर गर्ने, स्पष्स्टीकरण सोध्ने, फारम भरिहाले भने पनि उनलाई राजदुत हुन नदिने, जिम्मेवारीबिहीन बनाउने- (जुन अहिले ‘जगेडा सचिव’ मा राखेर गरिरहेका छन्) लगायतका थुप्रै विकल्प थिए।
तर, उनले व्यक्तिगत रुपमा गरिएको ‘एसएमएस’ लाई पब्लिक मात्र गरेनन्, सत्ताको दुरुपयोग गर्दै बहालवाला सचिवलाई ७ घण्टासम्म प्रहारी हिरासतमा राखिदिए। यसबाट कर्मचारी तन्त्रबाट आजित नागरिकबाट गरिएको बालेन्द्रको ‘वाहवाही’ बाहेक उपलब्धी केहि भएन। प्रधानमन्त्री बालेन्द्रको यो कार्यलाई विधिसम्मत मान्न सकिन्न ।
यसै बिषयलाई लिएर बालेन्द्रले ‘होलिडे मुड’ मा आफू देशको प्रधानमन्त्री हुँ भन्ने समेत बिर्से । उनको स्ट्याटस नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई गर्न खोजिएको व्यंग्य हो भनेर सबैले बुझेका छन्। बालेन्द्रले जे लेख्दा पनि ‘क्या वात’ भन्ने समाज अहिले उनको यो तुच्छ एवम् केटाकेटी हर्कतको आलोचनामा उत्रिएको छ। बालेन्द्रले यसपटक पनि जनताबाट ‘थपडी’ को आस गरेका थिए तर यस्तो ‘स्तरहीन’ व्यंग्यले प्रधानमन्त्री पदको गरिमालाई नराम्रोसँग गिराएपछि उनको ‘स्टाट’ अहिले उनकै ‘गलपासो’ भएको छ ।
नेपाल सरकारको एउटा जिम्मेवार सचिवलाई सात-सात घण्टासम्म हिरासतमा राखेर समेत नपुगेर प्रधानमन्त्री बालेन्द्र सचिव पुष्करको सार्वजनिक बेइज्यतिमै उत्रिए । आफ्नै मातहतको एउटा बहालवाला कर्मचारीलाई यसरी पब्लिक प्लेटफर्ममै तेजोबध गर्न खोज्नु प्रधानमन्त्रीको पुरूषार्थ पटक्कै होइन । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा यदाकदा हास्यरस प्रयोग गर्न सक्छन्, जिस्किन पनि सक्लान् तर संवेदशील विषय र जिम्मेवार पात्रमाथि मजाक गर्न मिल्दैन। प्रधानमन्त्री व्यक्ति होइन सँस्था हो। यसको गरिमा गिराउने अधिकार स्वयम् बालेन्द्रलाई पनि छैन।







