पर्सा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला अधिवेशनमा प्रतिनिधि छनोटलाई लिएर कार्यकर्ताबीच कुटाकुट भएको छ। घटनामा पार्टीका महादेवप्रसाद कुर्मी, गौतम श्रेष्ठसहित तीन जना घाइते भएका छन्।
आइतबार हुने जिल्ला अधिवेशनको तयारीस्वरूप वीरगन्ज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गेटवे होटलमा शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला दुई पक्षबीच विवाद चर्किएर हात हालाहालको स्थिति बनेको हो। जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा असन्तुष्टि जनाउँदै एक पक्षले अधिवेशन स्थगित गर्न माग गरेपछि उत्पन्न विवादले उग्र रूप लिँदा कार्यकर्ताबीच कुटाकुट भएको हो।
सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेललगायतले मधेश प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला अधिवेशन स्थगित गर्न माग गरेका थिए। उनीहरूले जिल्ला सभापति तथा पर्सा–१ का सांसद हरि पन्त पक्षले पार्टीको विधान र पद्धतिविपरीत आफू निकट व्यक्तिलाई मात्र प्रतिनिधि बनाएको आरोप लगाएका छन्।
ज्ञापनपत्रमा विभाग गठनसम्बन्धी निर्णय, माइन्युट तथा प्रतिनिधि मनोनयन प्रक्रियाबारे पारदर्शी जानकारी सार्वजनिक गरेपछि मात्र अधिवेशन गर्नुपर्ने उल्लेख गरिएको छ। निर्वाचन समितिले ज्ञापनपत्र प्राप्त गरेपछि करिब दुई घण्टाका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको भए पनि माग सम्बोधन नगरी प्रक्रिया पुनः सुरु भएसँगै दुई पक्षबीच विवाद चर्किएको थियो। स्थिति तनावग्रस्त बनेपछि घटनास्थल पुगेको प्रहरीले लाठीचार्जसमेत गरेको थियो ।
निर्वाचन समिति स्रोतले निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको र बाँकी प्रक्रिया आइतबार बिहान ८ बजेदेखि पुनः सन्चालन गरिने बताएको छ ।







