सेबोनको पाइपलाइनमा थपिए ६ नयाँ कम्पनी, २ अर्ब ७८ करोड माथिको आईपीओ प्रस्ताव

काठमाडौँ। पूँजी बजारमार्फत रकम संकलन गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा  ६ वटा नयाँ कम्पनीहरू थपिएका छन्। यी कम्पनीहरूले कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३४ हजार ५३१ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन्।

आईपीओ पाइपलाइनमा थपिएका कम्पनीहरूमा हाइड्रोपावर क्षेत्रका सुपरहेवा पावर कम्पनी लिमिटेड र रघुगंगा हाइड्रोपावर लिमिटेड रहेका छन् भने उत्पादन तथा प्रशोधन क्षेत्रतर्फ राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन्।

सेबोनका अनुसार राजेश मेटल क्राफ्ट्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। यस्तै रघुगंगा हाइड्रोपावर लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता, सुपरहेवा पावर कम्पनी लिमिटेडले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेका छन्।

त्यसैगरी अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता तथा प्रिमियर डिस्टिलरी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्।

यी सबै कम्पनीहरूले विभिन्न मर्चेन्ट बैंकहरूलाई बिक्री प्रबन्धक नियुक्त गर्दै सेबोनमा आवेदन दर्ता गराएका हुन्। हाल यी कम्पनीहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) को ‘अनुपालन प्रतिवेदन सहितको प्रारम्भिक समीक्षा’ चरणमा रहेका छन्। बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्र सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री प्रक्रिया अघि बढ्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *