विभागद्वारा ९ वटा व्यवसायमा अनुगमन, ६ वटा फर्मलाई ३ लाख २१ ह्जार जरिवाना

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गरेको छ।

विभागको टोलीले ९ वटा फर्म तथा व्यवसाय अनुगमन गरी ६ वटा फर्मलाई जरिवाना तथा ३ वटा फर्मलाई सुध्रिन निर्देशन दिएको हो।

विभागले बिहीबार गरेको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३१ भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार शंखमुलस्थित इलाभेन इलाभेन ग्रुपलाई ५१ हजार रुपैयाँ, नयाँ बानेश्वरस्थित रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ तथा पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै, काठमाडौं महानगरपालिका–७ चावहिलस्थित मोबडिल्ज र महानगरपालिका–१० बुद्धनगरस्थित गणेश मोटर बाइक वर्कसपलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा भीमसेनगोलास्थित गल्र्स क्लोजेट, चावहिलस्थित रुम्बा कलेक्सन तथा नाचघर गल्लीस्थित डेलिसियस मःम पसललाई आवश्यक सुधार गर्न निर्देशन दिइएको विभागले बताएको छ।

विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न उद्योग, व्यवसाय तथा फर्मको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही तथा निर्देशन गरिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *