राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाएको भन्दै महामन्त्री राणासहित १८३ जनाले छोडे पार्टी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । लामो समयदेखिको आन्तरिक राजनीतिक खिचातानीपछि पार्टीका महामन्त्री डा. धवलशमशेर राणासहित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा विभिन्न तहका १८३ नेताकार्यकर्ताले आज (बिहीबार) सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

पार्टी छाड्नेहरूमा केन्द्रीय तहका नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत रहेका छन्। उनीहरूसँगै कार्यसम्पादन समिति सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य तथा अन्य विभिन्न तहका नेताकार्यकर्ताले पनि राप्रपासँगको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन्।

पार्टी परित्याग गर्ने समूहले यो केवल पहिलो चरणको कदम भएको जनाउँदै आगामी दिनमा थप नेताकार्यकर्ताले पनि पार्टी छाड्न सक्ने बताइएको छ। उनीहरूले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नेतृत्वको हीनभावना, कमजोरी तथा आत्मकेन्द्रित कार्यशैलीका कारण पार्टी आफ्नो मूल सिद्धान्त र उद्देश्यबाट विचलित भएको आरोप लगाएका छन्।

राजीनामा दिने नेताहरूद्वारा जारी विज्ञप्तिमा राप्रपाले जनताकेन्द्रित राजनीतिको प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा त्यसअनुसार पार्टी सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ। नेतृत्वले पार्टीका महत्वपूर्ण निर्णयहरू सामूहिक छलफल र केन्द्रीय कार्यसमितिलाई जानकारी नदिई गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

विशेषगरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टी नेतृत्वको संलग्नतालाई उनीहरूले गम्भीर राजनीतिक विचलनका रूपमा व्याख्या गरेका छन्। पार्टीको घोषित नीति र नेतृत्वको व्यवहारबीच ठूलो अन्तर देखिएको तथा यही कारणले राप्रपा जनताबाट क्रमशः दण्डित हुँदै गएको उनीहरूको दाबी छ।

विज्ञप्तिमा पार्टीभित्र जवाफदेहिता र संस्थागत प्रणाली स्थापित गर्ने प्रयास हुँदा त्यसको सट्टा नेताकार्यकर्तामाथि निरंकुश शैलीमा कारबाही गरिएको आरोप पनि लगाइएको छ। असहमति राख्ने नेता तथा कार्यकर्तालाई दमन गर्ने प्रवृत्तिले संगठनभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनेको उनीहरूको भनाइ छ।

पार्टी परित्याग गर्ने समूहले राजसंस्था पुनर्स्थापनाको एजेन्डामाथि समेत नेतृत्वले गम्भीरता नदेखाएको आरोप लगाएको छ। उनीहरूले राजसंस्था पुनर्स्थापनाका लागि भएका आन्दोलनहरू पटक–पटक विफल बनाउन पार्टीकै शीर्ष नेतृत्व सक्रिय रहेको जिकिर गर्दै संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता नगरिएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा राप्रपाको स्थापना जुन उद्देश्य, मान्यता र वैचारिक आधारमा भएको थियो, वर्तमान नेतृत्वले ती सबैलाई समाप्त पार्ने दिशामा पार्टीलाई डोर्‍याएको आरोप लगाइएको छ। यही कारण आफूहरू पार्टीमा बसिरहन नसक्ने निष्कर्षमा पुगेको भन्दै १८३ जनाले सामूहिक रूपमा राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।

राप्रपाभित्रको यो सामूहिक बहिर्गमनले पार्टीको आन्तरिक एकता र आगामी राजनीतिक रणनीतिमा गम्भीर प्रभाव पार्ने देखिएको छ।

 

यी हुन् राप्रपा पार्टी परित्याग गर्ने पदाधिकारीहरु 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *