काठमाडौँ। बैंकिङ अनियमितता तथा कर्जा दुरुपयोग सम्बन्धी आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार धनुषाको छिरेश्वरनाथ–१, रमदैयास्थित जानकी मेडिकल कलेजबाट नियन्त्रणमा लिएको हो।
पाण्डे जानकी मेडिकल कलेजका अध्यक्षका साथै राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्षसमेत हुन्।
प्रहरीका अनुसार पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेनरी साइन्स प्रालि’ नामक कृत्रिम व्यवसाय खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै कर्जा लिएको आरोप छ। साथै धितोको अस्वाभाविक रूपमा उच्च मूल्यांकन गराएर ऋण स्वीकृत गराएको देखिएको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा प्रभु बैंक लिमिटेडबाट निश्चित प्रयोजनका लागि लिएको कर्जा अन्यत्र प्रयोग गरिएको तथा पटक–पटक कर्जाको दुरुपयोग भएको तथ्य फेला परेको सीआईबीले जनाएको छ। यही आधारमा उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान अघि बढाइएको हो।






