ललितपुर । टिकटकर तुलसी अधिकारीको मुद्दामा ४० जना स्वयंसेवी वकिलले वकालतनामा पेश गरेका छन् ।
सबैले बहस गर्न नभ्याएपछि बुधबार पनि थुनछेक आदेश हुन नस्कदा उनलाई फेरि प्रहरी हिरासतमै पठाइएको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा उनीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा छ । ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार उनलाई आज पनि हिरासतमै राखिने छ ।
व्यवसायी कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् ।
उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।
चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।
२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।






