ऋण चुक्ता नगर्ने ऋणीको घरजग्गा तथा सम्पत्ति लिलाम गर्ने एनआईसी एशिया बैंकको तयारी (सूचनासहित)

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ऋणको साँवा तथा ब्याज रकम भुक्तानी नगर्ने ऋणीहरूले धितोमा राखेका चल तथा अचल सम्पत्ति लिलाम बिक्री गरी ऋण रकम उठाउने तयारी गरेको छ।

यस प्रक्रियाका लागि बैंकले १५ दिने सार्वजनिक सूचना जारी गर्दै सिलबन्दी बोलपत्र आह्वान समेत गरेको छ।

बैंकद्वरा जारी सूचनाअनुसार पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि सम्बन्धित ऋणीहरूले ऋणको साँवा, ब्याज तथा अन्य बक्यौता रकम भुक्तानी गरेका छैनन् ।

यसअघि पनि बैंकले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी ऋण चुक्ता गर्न आग्रह गरेको थियो।

तर, बैंकको निर्देशनलाई ऋणीहरूले अटेरी गरी ऋणवापतको साँवा ब्याजसमेत नतिरेपछि सार्वसाधारणको निक्षेप सुरक्षार्थ राखिएको धितो लिलाम प्रक्रिया अघि बढाइएको हो।

बैंकले बक्यौता ऋण असुलउपर गर्न ऋणीहरूले धितो राखेका सम्पत्ति बिक्री गर्ने निर्णय गरेको जनाएको छ।

बैंकका अनुसार इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले बोलपत्र कागजातमा उल्लेखित सर्त तथा प्रचलित कानुनबमोजिम यथास्थितिमा रहेका ती सम्पत्ति खरिदका लागि सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

इच्छुक खरिदकर्तालाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र त्रिपुरेश्वरस्थित राधाभवनमा रहेको बैंकको केन्द्रीय कार्यालय, कर्जा असुली विभागमा बोलपत्र आवेदन बुझाउन बैंकले अनुरोध गरेको छ।

सूचनामा लिलाम बिक्रीबाट प्राप्त रकमले सम्पूर्ण बक्यौता ऋण असुल हुन नसकेमा वा कुनै कारणले लिलाम प्रक्रिया सम्पन्न हुन नसकेमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, ऋण असुली ऐन, २०५८ तथा प्रचलित कानुनबमोजिम ऋणी र जमानीकर्ताको अन्य चल तथा अचल सम्पत्तिबाट समेत बाँकी रकम असुल गरिने सूचनामा उल्लेख गरिएको छ।

बैंकले सम्बन्धित ऋणी, जमानीकर्ता तथा सम्भावित खरिदकर्ताहरूलाई उक्त सूचना ध्यानपूर्वक अध्ययन गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *