काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबिचको सीमा विवादका विषयमा एक सनसनीपूर्ण दाबी गरेका छन्। आइतबार संसद् बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भारतले मात्र नभई नेपालले पनि भारतको भूभाग मिचेको दाबी गरेका हुन्।
संसद् बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेकसहित सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकहरूले ‘देशमा सरकार भएको’ अनुभूति कसरी गर्न पाउँछन् भनी प्रश्न गरेका थिए। सोही प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले सीमा मिचिएको विषयमा नयाँ तथ्य खुलासा गरेका हुन्।
सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले अस्ति भर्खर प्रधानमन्त्री भएपछि थाहा पाएँ– भारतले नेपालको भूमि मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ।’
प्रधानमन्त्री शाहले दुवै देशले एक अर्काको सीमा मिचेको आरोप-प्रत्यारोप चलिरहेको अवस्था रहेको स्वीकार गरे। यस्ता संवेदनशील सीमा समस्याहरूको स्थायी र न्यायोचित समाधानका लागि सरकार गम्भीर रहेको र दुवै देशबिच कूटनीतिक वार्ताका माध्यमबाटै समाधान खोजिने उनले संसद् समक्ष स्पष्ट पारेका छन्।






