काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनी हाल ललितपुर प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीका अनुसार अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको थियो। अनुसन्धानका क्रममा उनी विदेश फरार भएको खुलेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो।
अधिकारीविरुद्ध गत साउनमा ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी परेको थियो। उजुरीपछि सुरु गरिएको अनुसन्धानका क्रममा उनको बैंक खातामा ठूलो रकमको कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान विस्तार गरिएको प्रहरीले जनाएको छ।
सातदोबाटोस्थित हाम्रो अटोमोबाइल्स का सञ्चालक कुमार चिमोरिया ले अधिकारीविरुद्ध जाहेरी दिएका थिए। उजुरीपछि उनी सम्पर्कविहीन हुँदै फरार रहेकी थिइन्।
प्रहरीले उनलाई नेपाल ल्याएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।






