काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटबारे सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग आज दिउँसो ३ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको हो।
अर्थमन्त्री वाग्लेले शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए। यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन गरिएको छ।
अर्थमन्त्री वाग्लेले हालै संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने र बजेटका प्राथमिकता तथा कार्यक्रमबारे थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।






