काठमाडाैं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट घोषणाका क्रममा नेपाल सरकारले नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा ‘फिनटेक मार्केटप्लेस’ स्थापना गर्ने घोषणा गरेका छन्
मोबाइल एप वा इन्टरनेटको माध्यमबाट विभिन्न बैंक, ऋण, र बीमा सम्बन्धी सेवाहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले यस्तो ‘डिजिटल वित्तीय बजार’ को अवधारणा ल्याइएको उनले बताएका छन्।
त्यस्तै, सूचना प्रविधि सेवा क्षेत्रको विस्तारका लागि नेपाली नागरिकलाई विदेशमा लगानी खुला गर्ने कानुनी प्रबन्ध मिलाइएको अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन्।
नेपालमा नै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने व्यवस्था गर्ने तथा रिमोट वर्क (रिमोट रोजगारी) लाई आकर्षित गर्न स्पष्ट कानुनी व्यवस्था गरिने घोषणा उनले गरेका छन्।
यसका साथै, सरकारी निकायहरूमा प्रयोग हुने सफ्टवेयरको खरिद प्रक्रियालाई व्यवस्थित र एकरूपता दिन अबदेखि एकै निकायबाट खरिद गर्ने व्यवस्था मिलाइने उनले बताएका छन्।
सँगसँगै नागरिक एपमा पनि दर्जनौँ थप सरकारी सेवाहरू आबद्ध गरिने र डिजिटल सार्वजनिक विकास पूर्वाधारमा लगानी विस्तार गरिने घोषणा समेत अर्थमन्त्री वाग्लेले गरेका छन्।






