सेयर लगानीकर्तालाई राहत : पूँजीगत लाभकर अब अन्तिम कर

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षदेखि सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा लागू गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था घोषणा गरेका हुन् ।

नयाँ व्यवस्थाअनुसार सेयर कारोबारबाट लाभ कमाएका लगानीकर्ताले पूँजीगत लाभकर तिरेपछि सो आम्दानीमा थप कर तिर्नु नपर्ने भएको छ । यससँगै पूँजीगत लाभकर तिरेको रकम व्यक्तिको कुल आयमा गणना हुने छैन भने व्यक्तिगत आयकरको सीमाभित्र पनि समावेश गरिने छैन ।

हाल प्रचलित व्यवस्थाअनुसार एक वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गर्ने लगानीकर्ताले ७.५ प्रतिशत तथा एक वर्षभन्दा बढी अवधिसम्म सेयर राख्नेले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

सरकारको यो घोषणालाई पुँजी बजारलाई थप व्यवस्थित, आकर्षक र लगानीमैत्री बनाउने प्रयासका रूपमा हेरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *