काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’मा आयोजित कार्यक्रममा दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका थिए । समायोजनसँगै हाम्रो पार्टी नेपाल औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा विलय भएको जनाइएको छ । दुवै पक्षबीच भएको सहमतिमा सुशासन, समृद्धि, सामाजिक न्याय, समानता, समावेशीकरण तथा नागरिक केन्द्रित राजनीतिलाई सशक्त रूपमा अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै दलित समुदायको अधिकार, पछाडि पारिएका वर्गको प्रतिनिधित्व तथा कमजोर समुदायको आवाजलाई राजनीतिक मूलधारमा स्थापित गर्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ । सहमति अनुसार जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचार र कुशासनविरुद्धको अभियानलाई निरन्तरता दिने, घाइते तथा शहीद परिवारका मागलाई सम्बोधन गर्ने तथा विभेदमा परेका जाति, क्षेत्र, लिङ्ग र वर्गको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसैगरी, दलित समुदायमाथि हुने जातीय छुवाछूत, विभेद र बञ्चितीकरण अन्त्यका लागि नीतिगत तथा व्यावहारिक पहल गरिने उल्लेख गरिएको छ।
राज्य सत्ता तथा पार्टी संगठनमा जनसंख्याको अनुपातमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा हाम्रो पार्टी नेपालका नेता–कार्यकर्तालाई उचित जिम्मेवारी र सम्मानजनक हैसियत प्रदान गर्ने सहमति पनि भएको छ । उज्यालो नेपाल पार्टीले उक्त समायोजनलाई नयाँ राजनीतिक संस्कार, साझा उद्देश्य र जिम्मेवार राजनीतिक अभ्यासतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ । पार्टीका मुख्यसचिव डा. राजु थापाद्वारा जारी विज्ञप्तिमा समायोजनले समानता, सामाजिक न्याय र सुशासनको पक्षमा उभिएका शक्तिहरूबीच सहकार्य र एकताको सकारात्मक सन्देश दिएको उल्लेख गरिएको छ ।
पार्टीले आगामी दिनमा सबै पक्षको सहयोग र सक्रिय सहभागितामार्फत सुशासन, समृद्धि र सामाजिक न्यायसहितको ‘उज्यालो नेपाल’ निर्माण अभियानलाई अझ सशक्त बनाइने जनाएको छ ।






