काठमाडौं। मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। पर्वका अवसरमा मुस्लिम समुदायले मस्जिद तथा इदगाहमा सामूहिक नमाज अदा गर्दै शुभकामना आदानप्रदान गरेका छन्।
इब्राहिमले अल्लाहको आदेशअनुसार आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको धार्मिक विश्वासको सम्झनामा यो पर्व मनाइने गरिन्छ। बकर इदमा मुस्लिम धर्मावलम्बीले अल्लाहप्रति समर्पण र त्यागको प्रतीकस्वरूप कुर्बानी दिने परम्परा निभाउँछन्।
दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। मुस्लिम समुदायले शनिबारसम्म तीन दिन पर्व मनाउने जनाइएको छ।
पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
Artha Sanjal






